Logo

बजारमा तरकारी बिक्री नभएपछि दाङका किसानहरुले लगाएको काउली बारीमै फुल्न थाल्याे

Radio Manjushree १६ चैत्र २०७८, बुधबार ०६:३३ मा प्रकाशित

बजारमा तरकारी बिक्री नभएपछि दाङका किसानहरुले लगाएको काउली बारीमै फुल्न थालेको छ । भाउ नपाएपछि व्यावसायिक रुपमा तरकारी खेती गर्न थालेका साना किसानहरु बढी मारमा परेका छन् ।

बारीबाट काउली काटेर बजार सम्म पुर्‍याउँदा प्रति किलो दश रुपैयाँ लागत लाग्ने तर व्यवसायीले दश रुपैयाँ किलोमा पनि खरिद नगरिदिँदा समस्यामा परेको कृषकहरु बताउँछन् । घोराही बजारमा भने काउली प्रति किलो ३० देखी ४० रुपैयाँमा बिक्रि भैरहेको छ । आफूले दश कठ्ठामा लगाएको काउलीमध्ये ६ कठ्ठाको बिक्रीको लागी तयार भए पनि मूल्य नपाउँदा बिक्री नभएको घोराही उपमहानगरपालिकाको वडा नम्बर ६ गुरिगैंका कृषक प्रेमवहादुर चौधरी बताउनु हुन्छ ।

बारीमै काउली फुल्न थालेपछि तरकारी उत्पादक कृषकहरुले गाई भैंसीलाई घाँसको रुपमा खुवाउन थालेका छन् । घोराही उपमहानगरको कृषि शाखाले बजारको आवश्यक्ता नहेरेर उत्पादन गर्दा बिक्रीमा समस्या भएको बताएको छ ।

कृषकहरुले भने भारतबाट काउली आउने भएपछि आफूहरुको उत्पादन बिक्री नभएको गुनासो गर्ने गरेका छन् । ठूला फर्म सञ्चालन गरेका कृषकहरुले उत्पादित तरकारी बाहिरी जिल्ला पठाउने भए पनि साना किसानहरुको बजार भने जिल्ला भित्रैका घोराही, तुलसिपुर, लमही रहेका छन् ।


ताजा समाचार
ट्रेंडिंग समाचार